बैतडी– सर्पले टोकेर घाइते भएकी बैतडीकी एक महिलाको झारफुक गर्ने क्रममा मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटाललाई मंगलबार बेलुका सर्पले टोकेको थियो।
भान्सामा खाना पकाउने बेला सर्पले टोकेपछि घाइते भएकी उनलाई निको पार्न भन्दै आफन्तले वैद्य बोलाएका थिए।
वैद्यले झारफुक गर्ने क्रममा राति करिब १ बजेतिर उनको मृत्यु भएको स्थानीयले बताएका छन्। स्थानीय स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश सार्कीका अनुसार परिवारका सदस्यले नजिकै रहेको स्वास्थ्य चौकी नगइ झारफुकका लागि वैद्य बोलाएका थिए।
‘साँझ ७ बजे नै भान्सामा सर्पले टोकेको रहेछ। हामीलाई खबर नगरेर घरपरिवारले झारफुक गर्न बैधको पछि लागेका रहेछन्,’ स्वास्थ्यचौकी इञ्चार्ज सार्कीले भने, ‘स्वंमसेविकाले पनि हामीलाई ढिलो खबर गरिन्। राति नै अस्पताल लगेको भए बचाउन सकिन्थ्यो।’
पछिल्लो समय पञ्चेश्वर गाउँपालिकामा सर्पदंशका घटनाहरु बढेका छन्। सर्पको टोकाइबाट गत महिना मात्रै त्यहाँ एक किशोरीको मृत्यु भएको थियो।