धेरैलाई थाहा छ कि राजनैतिक दल विना लोकतन्त्र बलियो र संस्थागत हुनसक्दैन र यो पनि राम्ररी थाहा छ कि लोकतन्त्रको अवसानमा राजनैतिक दलहरूकै क्रियाकलाप प्रमुख कारक बन्न आउँछ । चाहे म्यानमार होस् या पाकिस्तान या श्रीलङ्का नै किन नहोस्; राजनैतिक दल र उसका क्रियाकलाप नै विद्यमान राजनैतिक तथा आर्थिक संकटका कारकतत्व हुन् ।
मध्यपूर्वको अशान्ति स्थायी रूपमा टिकाउन मात्र होइन अफ्रिकी देशहरूको चरम गरिबीमा पनि र अमेरिकी लोकतन्त्रमा पनि त्यहाँका राजनैतिक दलहरूको भूमिका प्रधान रूपमा रहेको छ । यो कुरा स्वीकार गरेमा नेपालका राजनैतिक दलहरूको सुन्दर उपस्थिति र बलियो लोकतन्त्र स्थायी रूपमा प्राप्त हुनेछ । अन्यथा के हुन्छ भन्न सकिंदैन ।
नेपालका राजनैतिक दलहरूको करिब आठ दशकको इतिहास र क्रान्तिको रूपरेखा रहेको छ, हो ! नेपाली समाज विभिन्न संकीर्णतावाद र तानाशाहीको दमनचक्रबाट जर्जर बन्दै गर्दा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूले सञ्जीवनी दिएकै हुन् । कसले होइन भनेको छ र नेपालका दलहरू पुराना र ऐतिहासिक, प्रगतिशील थिएनन् भनेर ।
यो पनि त नेपाली जनताले मूल्याङ्कन गरेर राजनैतिक दलहरूलाई क्रान्ति होस् या आन्दोलन, या निर्वाचन सदैव साथ र समर्थन दिंदै आए । नेपाली जनताले बीपी र पुष्पलालको कहिले अवमूल्यन गरे र ? चाहे किसुनजीको सादगीपन होस् या गणेशमानको त्याग या मदन भण्डारीको परिवर्तनगामी विचार सदैव समर्थन र सम्मान व्यक्त गरिरहे र गरिरहने नै छन् तर के राजनीति ती नेताहरूका लगानी या त्यागको निरन्तर सावाँब्याज असुल्ने धन्दा हो ?
के राजनीति जनताको अपेक्षासँग सरोकार नगरी नेतृत्वको आर्थिक अर्थोपार्जनको क्षेत्र हो ? के विगतदेखिको नेतृत्व परिवर्तन दलकै कारण मात्र सम्भव भएको हो ? होइन भने किन नेपालका राजनीतिक दलहरूमा चाकडी, चाप्लुसी, भ्रष्टाचार, नातावादको बोलवाला छ भनेर व्यापक जनताबाट असन्तुष्टि आइरहन्छ ।
अझ यस्तो असन्तुष्टि पार्टी भित्रबाटै आउँदै गर्दा एकअर्कालाई दोषारोपण गरी आरोप लगाउने मात्र हो भने यो आरोप–प्रत्यारोपले हाम्रा दलीय पद्धति र आचरणलाई सधैं सधैं गिज्याइरहनेछ । राजनैतिक दलहरू भनेका सरकार संचालन र समाज रूपान्तरणका माध्यम हुन् भनेर आधारभूत तहदेखि विश्वविद्यालयको तहसम्म पढाउँदै गरिएको छ । दल विना लोकतन्त्र संस्थागत हुन सक्दैन र समाजमा परिवर्तन ल्याउन असम्भव जस्तै हुन्छ भनेर निरन्तर सैद्धान्तिक ज्ञान पाठ्यपुस्तकले दिइरहेका छन् ।
यो लेखक स्वयं विश्वविद्यालयमा राजनीतिशास्त्र पढाइरहँदा एक विद्यार्थीले सोधे– ‘सर तपाईंले अमेरिकी र यूरोपेली दलका आदर्श पढाएर हुँदैन । हामी नेपालीलाई यहाँका दलहरूको यथार्थता पढाउनुस् अनि मात्र विश्वास गरौंला ।’
विश्वविद्यालयमा राजनीतिशास्त्र पढाइरहँदा एक विद्यार्थीले सोधे– ‘सर तपाईंले अमेरिकी र यूरोपेली दलका आदर्श पढाएर हुँदैन । हामी नेपालीलाई यहाँका दलहरूको यथार्थता पढाउनुस् अनि मात्र विश्वास गरौंला ।’
उनको जिज्ञासा एवं प्रश्न जायज थियो । किनकि दलीय सिद्धान्त र नेपालका दलहरूको व्यवहारमा धेरै अन्तरविरोध थिए सो कारण स्वयं विद्यार्थी नै रनभुल्ल पर्नु पनि स्वाभाविकै लाग्छ । उनीहरूको आक्रोश जायज नै हो ।
कसैले पत्याउनुस् या नपत्याउनुस् गायक जीवन शर्माको गीत संगीतले क्रान्तिमा हिंडाउन मद्दत गर्यो । त्यसैगरी लोक गायक पशुपति शर्माले दलीय विकृति विरुद्ध गीत मार्फत नै समाजलाई तरङ्गित बनाइदिए । डा. गोविन्द के.सी.का मागलाई सम्बोधन गर्नुको सट्टा पागल हुन् भन्ने नेतृत्व नै शासनमा छन् ।
सिंहदरबारको कागजको निर्णयलाई विकासको सूचक मान्ने हामी छँदैछौं । अझ भन्ने हो भने आफू नभए श्रीमती, नभए सालो, नभए साली या छोराछोरीलाई जबरजस्ती नेतृत्वमा ल्याउने परिपाटी भएसम्म कसरी नेपालमा राजनैतिक दलहरू स्थायी रूपमा लोकतन्त्रको पहरेदार बन्न सक्लान् र ? सैद्धान्तिक ज्ञान लिनु नपर्ने, तराई र दुर्गम कहिल्यै नबिझ्ने र काठमाडौंलाई मात्र देश ठान्ने कसरी बीपी, गणेशमान र पुष्पलालका विरासत हुन सक्छन् ।
सिंहदरबार निरंकुशताको प्रतीक हो किनभने त्यो सीमान्तकृत नेपालीको पहुँच भन्दा बाहिर छ । त्यो सिंहदरबार सर्वसाधारणलाई सर्वसुलभ पहुँचमा छैन । तर पनि नेताहरू त्यो सिंहदरबारलाई गाउँगाउँमा लैजाने भन्छन् । सरकार ! हामीमाथि कृपा गरी त्यो सिंहदरबारलाई गाउँमा नल्याउनुहोस् बरु त्यहीं नै त्यसैलाई नाम र व्यवहार परिवर्तन गरी जनताको दरबार बनाउनुस् ।
नेपाली जनताको रोजाइको दल
जनकपुर, जलेश्वरकी निहारिका राजपूतले न्याय पाउन महिनांै सडकमा बस्नुपर्ने अवस्था आउन नदिने, कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछिको मृत्युको छानबिन गर्न हिम्मत गर्ने, डा.गोविन्द केसी एउटा कुशल डाक्टर मात्र होइन समाज रूपान्तरणका अगुवा हुन् भन्न सक्ने र दैलेख तथा मकवानपुरका अनगिन्ती नागरिकतामा अश्लील र अपमानजक नाम लेखिनुमा नैतिकताले आफ्नो कमजोरी स्वीकार गर्न सक्ने, हर्क साम्पाङ पनि जनताको प्रतिनिधि हुन् भन्न सक्ने दल खोजेका छन् जनताले ।
जनताले सिंगापुर या स्वीट्जरल्याड बनाउने माग राखेका छैनन् । केवल खेतमा सिंचाइ होस्, समयमा मलखादको व्यवस्था होस्, औषधि उपचार सहज होस् र आफ्ना छोराछोरी वैदेशिक रोजगारमा बाध्यातवश जान नपरोस् भन्ने चाहेका छन् ।
असाध्य रोगको निःशुल्क उपचार, श्रमको सम्मान, आफ्नो उत्पादनको बजार व्यवस्था होस् भन्ने चाहन्छन् । कसैलाई जबरजस्ती दलको सदस्य नबनाइयोस् । चुनावमा चन्दा उठाउने धन्दा बन्द होस् । अपराधको राजनीतीकरण नहोस्, देशमा काम गरेर खान सक्ने वातावरण होस् र जनतालाई यस्तो वातावरण बनाइदिए पुग्छ ।
दलीय क्रियाकलाप र सामाजिक संस्कार नितान्त फरक कुरा छन् । त्यसमा राजनीतीकरण नहोस्, घाटमा पनि भाषण गर्ने प्रकृति अन्त्य होस् । दलितको घरमा एकछाक खाएर जातीय विभेद अन्त्य हुँदैन । यसलाई राजनैतिक संस्कारसँग जोडियोस् र समाजलाई अधिक राजनीतीकरणबाट मुक्त राखियोस् । आर्थिक पारदर्शिता कायम भयो भने मात्र पनि धेरै हदसम्म भ्रष्टाचार निवारण हुन सक्छ तसर्थ दलीय आम्दानी र खर्च सार्वजनिक गरियोस् ।
एम. अधिकारी र सीसीटीभी फुटेज साटिनु गम्भीर अनैतिक र भ्रष्टकार्य हो भनी स्वीकार गरियोस् । एउटा साधारण मानिसको मृत्युको पीडा पनि उत्तिकै हुन्छ जति ठूलो पद, ओहोदामा बस्ने मानिसको मृत्युको । यसमा कहिल्यै विभेद नगरियोस् ।
होइन भने…
जनताले कार्ल माक्र्सदेखि गान्धीसम्मको इतिहास बुझ्न थालेका छन् । यो पनि बुझ्न थालेका छन् कि राज्य जनताले निर्माण गरेका हुन् । शासक जनताले स्थापना गरेका छन् । दल भनेका जनताका लागि जनताद्वारा निर्माण गरिएका संगठन हुन् जुन सहजै निर्माण हुन र भत्किन पनि सक्छन् । त्यो जनताको हातमा निर्भर रहेको विषय हो । जनताले कम्बोडियाको राजतन्त्र, म्यानमारको व्यवस्थादेखि पाकिस्तानको लोकतन्त्र पनि राम्ररी बुझेका छन् ।
हेक्का होस् ! नेपालको दलीय आन्दोलन जसरी क्रान्तिकारी र न्यायोचित थियो त्यसको भरपाई जनताले पटक–पटक निर्वाचनबाट दिइरहेका छन् । पूर्णरूपमा दलीय गतिविधिलाई समर्थन गरेका छन् । दलीय नेतृत्वलाई सम्मान पनि गरेका छन् । यसको मतलब यो होइन कि जे गरे पनि नेतृत्वलाई यसरी नै समर्थन गरिरहने छन् ।
समयमा बदलाव आएको छ । सूचना र प्रविधिले आमनागरिक जागरुक हुँदैछन् । बालेन साह र हर्क सम्पाङ्ग जनविद्रोहका उपज हुन् । स्थानीय निर्वाचनमार्फत एउटा कोर्स करेक्सनका लागि जनताले ट्रेलर देखाए अब पनि संसदीय र प्रादेशिक निर्वाचनमा नेतृत्व चयनमा परिवारवाद र पैसाको मात्र चलखेल भए त्यसको परिणाम दल र नेतृत्वले सोचेभन्दा धेरै फरक आउनेछ ।
हिन्दीमा एउटा भनाइ छ नि, ‘पिक्चर अभि बाँकी हे मेरे दोस्त ।’ स्थानीय चुनावमा हर्क सम्पाङ, बालेन र गोपीबाट ट्रेलर सुरु भएको फिल्म मंसिरपछि रिलिज हुनेछ । पुराना विरासत बोकेका दललाई समयमै चेतना भया !