नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जस अनुसार आज बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत पुगेन।
जिल्लामा जम्मा १ हजार २ सय १२ मतमध्ये १ हजार २ सय ५ मत खसेको थियो। पहिलो चरणको उक्त मतदानमा सभापतिका उम्मेदवार कविराज पण्डितको ४ सय ८९ र उनका निकटतम प्रतिद्वन्द्वी रामसिंह रावलले ४ सय ७४ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी चक्र शाहले भने १ सय ५२ मत पाए।
पहिलो चरणबाट कुनै पनि उम्मेद्वारको मत ५१ प्रतिशत अर्थात् ६ सय १५ मतभन्दा बढी पुग्न नसकेपछि जिल्लामा अब फेरि दोस्रो चरणमा मतदान हुने भएको छ। ५१ प्रतिशत मत नपुग्दा आज दिउसो १ बजेदेखि पुनः मतदान गरिने जिल्ला निर्वाचन समितिले जनाएको छ।
अबको चुनावी प्रतिस्पर्धामा भने पण्डित र रावलबिच चुनावी प्रतिस्पर्धा हुने छ। चक्र शाह पहिलो चरणको चुनावबाट बाहिरिएका छन् । पार्टी सभापतिसमेत रहेका कविराज पण्डित देउवा पक्षबाट प्रतिस्पर्धामा छन् भने रामसिंह रावलले पौडेल–सिटौला पक्षबाट हुन्।