कञ्चनपुरमा एमालेबाट निर्वाचित स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।मंगलबार साँझसम्म १ नगर प्रमुखसहितले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार नेकपा (एस) मा सनाखत गर्नेमा १ नगर प्रमुख, ११ वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरु रहेका छन्। सनाखत गर्नेमा पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका छन्।
नेकपा (एस) रोजेका ३ जनाले सनाखत फिर्ताको निवेदन दिएका छन्। कृष्णपुर नगरपालिकाका २ वडाध्यक्ष र १ सदस्यले निवेदन दिएको जोशीले बताए। निवेदन निर्वाचन आयोगमा पठाइएको उनले बताए। ७ नगरपालिका र २ गाउँपालिकासहित ९ स्थानीय तह रहेको कञ्चनपुरमा एमालेबाट ५ प्रमुख र ७ उपप्रमुख विजयी भएका थिए।