काठमाडौँ – सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय प्रहरीले तुइन काटिदिँदा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । बेपत्ता धामी हालसम्म फेला परेका छैनन् ।
सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । गत साउन १७ गते गठित छानबिन समितिले साउन २७गतेसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने भएपनि समितिले अझै काम सकेको छैन ।