आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुशीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पाइन्छ।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ती पनि भन्ने गरिएको छ ।
बूढी हाल्ने
ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ ।
यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको बताइएको छ ।