भीमदत्त नगरपालिका–१८ कञ्चनपुरका हरि विकको राम्रैसँग जीविकोपार्जन हुँदै थियो। ज्याला मजदुरी गरेर पनि उनले दुई छोरा र एक छोरीलाई पढाइरहेकै थिए। उनले तीनै छोराछोरीलाई एक निजी विद्यालयमा पढाउँदै आएका थिए। उनी सबै सन्तान बराबर हुन भन्ने मान्यता राख्थ्ये।
तीन छोरा छोरीको स्कूल फी, कापी, किताब, खाजा खर्च गरेर महिनामा १५ हजार जति खर्च हुन्थ्यो। जुन उनले सहज व्यवस्थापन गर्दै आएका थिए।
छोराछोरीले पढेर बुढेसकालमा दुःख पर्दा साथ दिने सपनाका साथ उनी निकै दुःख गरेर राम्रोसँग पढाइरहेका थिए। कोरोना महामारीले उनको सपनामा पानी हालिदियो। एकातिर काम ठप्प बन्यो, अर्कोतिर छोराछोरीको स्कुल पनि बन्द भयो। कोरोनाले हरिको काम बन्द हुँदा आम्दानी ठप्प भयो। तर स्कुल बन्द भएपनि छोराछोरीको फी तिर्न बन्द भएन।
स्कुलले प्रत्येक महिनाजसो पैसा तिर्नका लागि ताकेता गर्दै आयो।
कोरोना महामारीको पहिलो वर्षमा उनले ५० हजार रूपैयाँ बाँकी रहेको शुल्क तिरे। त्यो पनि ऋण निकालेर। महामारी लम्बिदै गएपछि उनको परिवारलाई बिहान बेलुकाको छाक टार्न समेत गाह्रो हुनथाल्यो।
छोराछोरीमाथि भेदभाव गर्नुहुन्न भन्ने यसअघिको मान्यताबाट उनी पछि हटे। उनले दुई छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा भर्ना गरिदिए।
भाइहरूसँगै निजीमा पढ्दै आएकी जेठी छोरी सरकारी भर्ना गरिदिएपछि विद्यालय जानै छाडिन्। उनले कक्षा ९ मा पढ्दा पढ्दै विद्यालय छोडिन्। अचेल भाइहरूको अनलाइन कक्षा चलिरहेको हुन्छ। उनी घरको काममा व्यस्त हुन्छिन्।
‘ठूलो गल्ती गरियो जस्तो लागिरहेको छ। विद्यालय जानै छोडेपछि निजीमै भर्ना गराइदिन्छु भन्दा पनि जाँदै जान्न भन्छिन्’ हरिले सुनाए।
काठमाडौंको त्रिपुरेश्वरस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीकी रिना जिम्बाले कक्षा १० मा पुगेपछि पढाइलाई निरन्तरता दिन सकिनन्। कोरोना महामारीकै कारण उनले पढाइ अगाडि बढाउन नपाएकी हुन्।
रिनाको समस्या भने अर्कै छ। सरकारी विद्यालयमा पढ्दै आएकी उनको फी तिर्नु पर्दैन। पाठ्यपुस्तकसमेत निशुल्क पाइन्छ।
अहिले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। यस्तो अवस्थामा उनीसँग अनलाइन कक्षाका पढ्न साधन छैन। परिवारले एउटा स्मार्ट फोन र इन्टरनेटको व्यवस्था गर्न नसकेपछि उनी एसइई पनि दिन नसक्ने अवस्थामा पुगि। कक्षा ९ पास गरेपछि कक्षा १० मा पढ्न पाएकी छैनन्।
कोरोना महामारीका कारण विद्यालय छाड्ने दर निकै बढेको छ। त्यसमा पनि छात्राको संख्या धेरै छ। अवस्था सामान्य हुँदा त बीचैमा विद्यालय छाड्ने धेरै हुन्थे। महामारीले समस्या थपेपछि यो क्रम उच्च देखिन्छ।
विगतका वर्षमा विद्यार्थी भर्ना दर ९० प्रतिशतभन्दा बढी थियो। अहिले त्यो पनि निकै कम देखिएको छ। विद्यालय छाड्ने दर पनि २५ प्रतिशतभन्दा बढी देखिएको छ।
विगतका वर्षको तुलनामा कोरोना महामारीपछि विद्यालय छाड्ने दर निकै बढेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको छ।
शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था रिड टु रुम नेपालले सन् २०२० मा एक सर्वेक्षण गरेको थियो। आफ्नो सम्पर्कमा आएका ४ हजार बालबालिकामाथि गरिएको सर्वेक्षणमा कोरोना महामारीका कारण विद्यालय छाड्ने छात्राहरूको संख्या धेरै पाइयो। कोरोना महामारीपछि विद्यालय खुल्दा ५३ प्रतिशत छात्राहरूले विद्यालय छाड्ने अनुमान सर्वेक्षणले गरेको थियो।
सर्वेक्षणमा ३ हजार ९९२ छात्रालाई सहभागी गराइएको थियो।
रुम टु रिडले एसिया र अफ्रिकाका ८ देशमा सर्वेक्षण गरेको थियो। जसमा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भियतनाम, लाओस, कम्बोडिया र तान्जानियाका २८ हजार किशोरीसँग कुराकानी गरिएको थियो। जसमा दुई किशोरीमा एक ९करिब ४९ प्रतिशत० किशोरी विद्यालय नफर्कने खतरा रहेको निष्कर्ष निकालिएको थियो।
सर्वेक्षणमा निम्न आय भएका परिवारलाई समेटिएको थियो।
अहिले विद्यालय छाड्ने दर निकै बढेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका सूचना अधिकारी माधव प्रसाद दवाडीले जानकारी दिए। अघिल्लो शैक्षिकशत्रमा ८१ लाख बालबालिका विद्यालय क्षेत्रमा थिए। चालू शैक्षिकशत्रमा कति विद्यार्थी छन् भन्ने यकिन हुन नसकेको सूचना अधिकारी दवाडीले बताउँछन्।
यसको यकिन तथ्यांक भदौ अन्तिमतिर आउने उनले जानकारी दिए। ‘यकिन तथ्यांक आएको छैन तर जिल्ला जिल्लाबाट आइरहेको जानकारी अनुसार धेरैले विद्यालय छाडेका छन्। त्यसमा छात्रा बढी छन्’ दवाडीले भने।
कोरोना महामारीका कारण विद्यालय नखुल्नु, आर्थिक अवस्था कमजोर, अनलाइन कक्षाका लागि साधन नहुने जस्ता कारणले विद्यालय छाड्ने गर्ने क्रम बढेको अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले बताए।
‘पहिलो पटक लकडाउनदेखि अहिलेसम्म आउँदा २५ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन्’ पुरी भन्छन्, ‘उनीहरू अझै पनि विद्यालयको दायरामा आएका छैनन्। यसरी नआउने दर बढ्दो छ।’
कोरोना महामारीपछि छात्राहरू कोही बिहे गरेर गएका र कसैले पढाइ छाडेको पाइएको पुरीको भनाइ छ।
आमा बुबा दुवै जना काममा जाने र घरमा आफूभन्दा साना भाइबहिनीको हेरचाह गर्नका लागि पनि किशोरीहरू बीचैमा विद्यालयमा छाड्ने गरेको अभिभावक संघका अध्यक्ष पुरीले बताए।
कोरोना महामारीका कारण निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम पनि बढेको छ। ‘कोरोनाको कारण मान्छेहरू कतिपय विस्थापित भएर गाउँ गए, गाउँमा बोर्डिङ छैनन् सरकारी विद्यालय छन्, त्यहीँ पढाउनुपर्यो’ मानव श्रोत विकास केन्द्रका सूचना अधिकारी दवाडी भन्छन्, ‘सरकारी विद्यालयमा साविकको भन्दा अहिले विद्यार्थी बढी देखिन्छ।’
कोरोना महामारीका कारण शिक्षा क्षेत्र निकै समस्याग्रस्त बनेको शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला बताउँछन्। यसमा राज्य मूकदर्शक बनेको उनको आरोप छ।
‘महामारीले शिक्षा क्षेत्रमा निकै समस्या पारेको छ। यो विषयमा सोच्नुपर्ने राज्यले हो। तर, राज्य चुप लागेर बसेको छ’ कोइराला भन्छन्, ‘उनीहरूलाई विद्यालय कसरी फर्काउने भनेर राज्यले कुनै उपाय अपनाएको छैन’ उनले भने।
तीन तहका सरकारले सही ढंगले काम गर्न सक यस्ता समस्या क्षणभरमै समाधान गर्न सकिने शिक्षाविद् कोइरालाको दावी छ। विद्यालय बन्द गरेर राखिएकाले यस्तो अवस्थामा विद्यार्थीहरूलाई विद्यालय फर्काउन कठिन हुनु स्वभाविक भएको उनले बताए।
‘यसअघि सामान्य अवस्थामा त निकै गाह्रो गरेर विद्यालय भर्ना गराउनु पर्थ्यो’ उनी भन्छन्, ‘विद्यालयमा टिकाउन त्यति नै मेहनत गर्नुपर्थ्यो। महामारीको बेला त सबैलाई विद्यालय, पढाइ भन्दा पनि आफ्नो ज्यानको माया बढी छ।’
राज्यले विद्यार्थी र शिक्षकलाई प्राथमिकतामा राखेर खोप दिनुपर्ने संघका अध्यक्ष पुरीको माग छ।
८० लाख भन्दा बढी रहेका विद्यार्थीहरू यतिबेला अनलाइन माध्यममार्फत अध्ययन गरिरहेका छन्। खोप दिएको खण्डमा आफूहरू विद्यालयमै गएर पठनपाठन गराउन सक्ने शिक्षकहरुले भन्दै आएका छन्।
आफूहरूले लामो समयदेखि खोप उपलब्ध गराउन माग गर्दै आएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी बताउँछन्।
शिक्षक र विद्यार्थीलाई खोप दिइएको खण्डमा भौतिक उपस्थितिमै पठनपाठन गराउन सकिने उनको भनाइ छ। तर, राज्यले आफूहरूले कहिल्यै प्राथमिकतामा नराखेको उनको गुनासो छ।