पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक कञ्चनपुरमा देखापरेको छ ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो ।
पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए ।
‘यस्तोे संक्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौं । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौं,’ उनले भने ।
६ किसानका २ दर्जनभन्दा बढी पशु १ हप्ता अघिदेखि सो रोगबाट सताइएकामा बाच्छाबाच्छीमा समेत संक्रमण देखापरेको छ ।
स्थानीय किसानका अनुसार संक्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ ।
भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको स्थानीय किसान वीरसिंह महराले बताए ।
‘रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ,’ पशु शाखा अधिकृत भट्टले भने, ‘संक्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म संक्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरेका छौं ।’
रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए ।