बाजुराको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम भएपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका छन् । गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिएपछि दुई वडाका एक सयभन्दा धेरै परिवार दुई हप्तादेखि विस्थापित भएका हुन् ।
विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको छ । अहिले अस्थायी पाल र राहत वितरण भैरहेको र केही दिनमै अस्थायी टहरा बनाइने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उज्यालोलाई जानकारी दिनुभयो । वडा नम्बर ४ को फैती गाउँका २७ र वडा नम्बर ५ को क्युडीका ९४ परिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।
गाउँका अरु केही घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । विस्थापितहरु गाउँभन्दा झण्डै एकघण्टा टाढा पर्ने जोरगाउँ जंगलमा गएर बसेका छन् । उनीहरुलाई खानेकुरा र बस्ने ठाउँको अभाव छ । त्यहाँ उनीहरुमध्ये धेरैको आफ्नै जग्गा रहेको र केहीको भने आफ्नो जग्गा नरहेको मल्लले बताउनुभयो ।
उँपालिकाको सक्रियतामा दाल, चामल र पाल वितरण भए पनि सबैले नपाएको गुनासो गरेका छन् । कतिपयले कन्दमूल खाएर छाक टार्नुपरेको दुखेसो पोखेका छन् । सबै विस्थापितलाई खानेकुरा र बस्ने ठाउँको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले प्रतिबद्धता जनाउनुभएको छ । गाउँभन्दा तल बनाइएको सडकका कारण घरहरु भासिएको स्थानीयबासिन्दाले बताएका छन् ।