कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगबाट संक्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ।
पछिल्लो ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। यस अवधिमा एक हजार ८९२ जनाको नमुना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन्।
दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो। प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ संक्रमित पुगेका छन्। अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकिएको छ।
दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए। सबैभन्दा बढी एकै दिन ३१ जना संक्रमितको मृत्यु भएको थियो।
कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ। पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर घटेको देखिएपनि संक्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमुना परीक्षण गरिएकामध्ये ४३ हजार ४४२ जना अर्थात् झण्डै १७ प्रतिशतमा संक्रमण भएको पाइएको छ। संक्रमित हुने मध्ये ५७० जना आर्थात् एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ।
हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा आठ हजार ३४४ र पिसिआर परीक्षण एक लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना संक्रमित भएका छन्। पिसिआर परीक्षण एक वर्ष अघिदेखिनै शुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गएको वैशाखदेखि गर्न थालिएको हो।
एन्टिजेन परीक्षण गराइ संक्रमित हुनेको मृत्यु दर दुई दशमलब ९१ प्रतिशत रहँदा पिसिआर परीक्षण गराइ संक्रमित हुनेको मृत्यु दर शून्य दशमलब ९३ प्रतिशत रहेको छ। अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ।