आफूलाई अब्बल बनाउने सोच राख्नु मानवीय स्वभाव नै हो । आफ्नो उन्नति र प्रगति चाहनु प्राकृतिक नियम नै हो । तर किन हामी सबैले चाहेको, सोचेको प्राप्त हुँदैन त ? यसको बाधक के हो रु कसरी हटाउने हो ? यस सम्बन्धमा मेरो आफ्नै भोगाइ छ । म पहिलो पटक कक्षा ११ को पढाइका लागि काठमाडौँ आएपछि घरका चार जना एउटा कोठामा कोचिएर बस्दाको कष्टकर जीवन अहिले पनि सम्झन्छु ।
प्रत्येक दिन बिहान ट्वाइलेटको लागि कुरेर लाइनमा बस्दाको पीडाले सारै नै पिरोल्ने गर्दथ्यो । शायद त्यो पीडाले मलाई सङ्घर्ष गर्न सिकायो र अग्रज दाइको निरन्तर सल्लाह, सुझाव र निगरानीले जीवनलाई सही मार्गमा अघि बढ्न प्रेरित गर्यो । त्यो पीडादायी जीवनले काठमाडौँमा आफ्नै घर बनाउने सपना देखेँ र त्यो पूरा पनि भयो । हरेक मानिसका विभिन्न सपना र चाहना हुन्छन् तर किन पूरा हुँदैनन् त ? मुख्यतः कुनै पनि समाज, राष्ट्र परिवर्तनका लागि दुई वटा महत्त्वपूर्ण आधार रहने गर्दछ, शैक्षिक र राजनीतिक ।
व्यक्तिको सोच, आचरण, प्रगति, समुन्नतिको आधार स्तम्भ शैक्षिक गुणस्तरीयताले मापन गर्दछ भने कानुनी राज्यको निर्माण गरी विभिन्न पद्धतिको विकास गरी आम मानिसमा राष्ट्र र राष्ट्रियताप्रति सम्मान जगेर्ना गरी सबैलाई एकजुट गराउने काम राजनीतिले गर्दछ । अभिभावकले शिक्षक शिक्षिकासँग मेरो बाबु र नानी बिहान उठ्न मान्दैन भन्दिनु, गाली गर्दिनु भनेर अनुरोध गरेको पाइन्छ । हामीले एक पटक सोचौँ त, हामी कति परनिर्भर भइराखेका छौँ ।
आफ्ना बालबालिकालाई बिहान सबेरै उठाउने बानीको विकास पनि आफैँले गराउन सक्दैनौँ र ! सम्पूर्ण नीतिको माउनीति नै राजनीति हो र यसले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने गर्दछ । हाल नेपालको शिक्षा क्षेत्र पनि यसको चपेटामा परेको छ ।
हाल शिक्षा क्षेत्रमा रहेका ‘स्टेक होल्डरहरू’ को सोच
अभिभावककै कुरा गरौँ । अधिकांश अभिभावक गुणस्तरीय शिक्षा, सामाजिक मूल्यमान्यता दिने कार्य शैक्षिक संस्थाको हो भन्ने ठान्नुहुन्छ । घर बालबालिकाको पहिलो पाठशाला हो भन्ने कुरा हामी सबैले पढे–सुनेकै कुरा हो तर यसलाई हामीहरूले कत्तिको आत्मसात् गरेका छौँ ? विद्यार्थीका स–साना विषयवस्तु पनि शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरूले समाधान गरिदिउन् भन्ने धेरै अभिभावकको चाहना हुन्छ । म यहाँ सामान्य विषयवस्तुहरू राख्न चाहन्छु । अभिभावकले शिक्षक शिक्षिकासँग मेरो बाबु र नानी बिहान उठ्न मान्दैन भन्दिनु, गाली गर्दिनु भनेर अनुरोध गरेको पाइन्छ ।
हामीले एक पटक सोचौँ त, हामी कति परनिर्भर भइराखेका छौँ । आफ्ना बालबालिकालाई बिहान सबेरै उठाउने बानीको विकास पनि आफैँले गराउन सक्दैनौँ र ! अधिकांश अभिभावकको अर्को एउटा गुनासो हुन्छ, ‘मेरो बाबु नानी जतिखेर पनि मोबाइल,ट्याब,आइप्याड,ल्यापटप र टिभीमा व्यस्त हुन्छ, सम्झाइदिनुस् न सर’ भनेर आग्रह गरेको पाइन्छ । यो आग्रह विद्यालयमा मात्र होइन कतै बाटो, भोज-भतेरमा शिक्षक शिक्षिकाहरूलाई भेट्नुभयो भने पनि भन्न बाँकी राख्नु हुन्न ।
कसरी गर्ने त समस्या समाधान ?
त्यसो भए यो सब किन भइराखेको छ त ? अभिभावकहरू जसरी आफू हुर्किनुभएको थियो त्यसै गरी अहिलेको पिँडीलाई हुर्काउन खोज्नुहुन्छ । त्यो अब सम्भव छैन भने अर्कोतिर हामी आफैँले बालबालिकाको बानी बिगारिदिएका छौँ ।
बिहान सबेरै उठ्ने कुरामा नै हेरौँ न, हामीले हाम्रा बालबालिकालाई समयमै सुत्न र उठ्न सिकायौँ त एक पटक सोधौँ आफैँलाई । शनिबार विदा त हो नि ढिलोसम्म सुत्दा के फरक पर्छ र भन्ने हामी आफैँ हौँ । त्यति मात्र होइन बालबालिका हामीले भनेको होइन, हामीले जे गर्छौँ त्यसको सिको गर्दछन् । त्यसैले हामीले बालबालिकाहरूले ग्याजेटमा धेरै समय नबिताओस् भन्ने चाहन्छौँ भने आफूहरूले पनि त्यसमा कम समय बिताउनुपर्यो ।
हामी नै ठिक समयमा सुत्ने, उठ्ने गर्दैनौँ भने बालबालिकाको के कुरा ? बालबालिकाले पढोस् भन्ने चाहनुहुन्छ भने आफूहरूले पनि घरमा पुस्तक पढ्ने बानी बसाल्नुपर्छ । प्रत्येक मानिसको आचरण बानी बसाल्न कम्तीमा पनि २१ दिन लाग्दछ तर हामी एक हप्ता पनि निरन्तरता दिन सक्दैनौँ । तसर्थ अभिभावकहरू आफूले हिजो जे सिक्नुभयो, जसरी सिक्नुभयो शायद आजको परिवेशमा त्यो कत्तिको समयसापेक्ष छ हामीले एक पटक नियाल्नु आवश्यक छ ।
सूचना तथा सञ्चार प्रविधिमा जति छिटो परिवर्तन आएको छ त्यसको प्रभाव सबैभन्दा बढी नयाँ पिँडीमा परेको छ । विद्यालयले पनि अभिभावकहरूलाई निरन्तर रूपमा अभिभावक शिक्षा कार्यक्रमहरू राख्नुपर्दछ । अभिभावकहरू स्वयंले आफूले आफैँलाई ‘अपडेट’ गर्नुपर्दछ । बालबालिकाको लागि हामी अभिभावकको जीवनशैली, आनी–बानी सिकाइको एउटा ठुलो स्रोत हो । हामी आफू किताब पढ्न मन गर्दैनौँ तर बाबु–नानीहरूलाई जतिखेर पनि पढ्नुपर्दछ भन्ने गर्छौँ । हामीले बाबु नानीहरूको शासक भएर होइन कि साथी भएर सँगसँगै काम गर्ने बानी बसालौँ ।
शिक्षामा के गर्ने त ?
कुनै पनि देशलाई विकास र समृद्धिको बाटोतिर लैजाने हो भने सर्वप्रथम शिक्षामा परिवर्तन ल्याउनुपर्छ । सर्वप्रथम शिक्षण पेसामा लागेका शिक्षक–शिक्षिकाहरूले आफ्नो पेसाप्रति गर्व गर्नुपर्दछ । प्रायः जसो सुन्ने गरिन्छ कि समाजले शिक्षाको सम्मान गरेन तर हामी शिक्षाकर्मीले पनि आफ्नो पेसालाई सम्मान गरेका छौँ त रु यो क्षेत्रलाईर यो पेसालाई सम्मानित बनाउने काम मुख्यतः हाम्रै होइन र ? कुनै पनि पेसा सम्मानित बन्नुको पछाडि स्वयं त्यसमा आबद्ध पेसाकर्मीहरूको ‘प्रोफेसनालिजम्’ को हात हुन्छ ।
शिक्षाकर्मीहरू समाजको सबैभन्दा बढी विवेकशील र समाजलाई सही बाटोतिर डोर्याउन सक्ने व्यक्ति हुन् । तर, हामी हाम्रो बौद्धिकता प्रयोग गर्नु सट्टा अरूप्रति आशा र भरोसा गरिरहेका छौँ । समाज परिवर्तनका लागि नेतृत्व शिक्षाकर्मीले लिनुपर्दछ र गुणस्तरीय शिक्षाका लागि प्रत्येकले पहलकदमी लिनु नितान्त आवश्यक छ । हाल शिक्षाको गुणस्तरीयता कायम गर्न अरूलाई होचो देखाएर, अरूको खुट्टा काटेर सबैलाई बराबर बनाउने प्रयास गर्दछौँ जुन दुर्भाग्य हो । केही वर्ग, पेसाकर्मीका छोराछोरी पढ्ने विद्यालय स्थापना गर्ने कार्य भइराखेको छ । संस्कार सहितको गुणस्तरीय शिक्षा पाउने अधिकार सबै तप्काका बालबालिकालाई छैन र ! जबसम्म संस्कार सहितको शिक्षा सिद्धान्तमा होइन कि व्यवहारमा दिन सकिँदैन तबसम्म जतिसुकै राजनीतिक परिवर्तन आए पनि तात्त्विक रूपमा हाम्रो जीवनमा परिवर्तन आउन सक्दैन । किनकि नयाँ पुस्ता पनि आफ्नो स्वविवेक र निष्ठामा खरो उत्रिन सक्दैन । बालबालिकाको पहिलो पाठशाला आफ्नो घर र पहिलो गुरु–गुरुआमा आफ्नो बुबा–आमा भएकोले प्रत्येक घरघरमा सचेतना आउनु आवश्यक छ ।
साना बालबालिकाको मस्तिष्कमा आमाबुवा तथा अन्य घरका सदस्यहरूले जे रोप्छौँ फल त्यसको नै आउँछ । नासपती रोपेर स्याउको आशा गर्नुको कुनै तुक छैन । एक पटक हामीले सोचौँ त साना बालबालिकाको मस्तिष्कमा भूतको तस्बिर हामीले बनाएका हैनौँ र नत्र कसले देखेको छ त भूत ? देख्नेले पनि आफ्नै मस्तिष्कले बनाएको भूतको तस्बिर देखेका हौँ वास्तविकतामा होइन । हामी सबैले आ–आफ्नो तह र तप्काबाट हाम्रा शिक्षाकर्मीको सम्मान गरौँ । संस्कार सहितको शिक्षाका लागि जे गर्न सकिन्छ, जस्तो गर्न सकिन्छ उठौँ, जागौँ, लेखौँ, बोलौँ र गरौँ । एक पटक प्रण गरौँ बेथितिका विरुद्ध बोल्छु र सकारात्मक अभियानलाई सम्मान गरी सहयोग गर्दछु भनेर । -काठमाडौँबाट रतन बहादुर बुढाको समन्वयमा