सुदूरपश्चिम प्रदेशसभाका ओली पक्षीय सांसदहरूले संसदीय दलका नेतालाई स्पष्टीकरण दिएका छन् । पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेको उनीहरूले जवाफ दिएका छन् ।
सात जना प्रदेशसभा सदस्यले संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्रीविरुद्ध मतदान गरेको बताएका हुन् र ‘एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा जारी च. नं. ३२ को पत्रअनुसार प्रदेशसभा सदस्यहरूको अनिवार्य उपस्थिति गराइ मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत लिने प्रस्तावको विरुद्धमा मतदान गर्न केन्द्रको निर्देशन अनुसार ह्विपको पालना गरी मैले पार्टी विधि, विधान, सिद्धान्त अनुसार नै सरकारविरुद्ध मतदान गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ प्रदेशसभा सदस्यले बुझाएको पत्रमा उल्लेख छ।
प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भई नसकेको अवस्थामा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने ओली पक्षीय सांसदको भनाइ छ ।
मङ्गलवार एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको ह्विप विपरीत प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हालेको भन्दै ओली पक्षीय सात जनालाई स्पष्टीकरण सोधेका थिए ।
प्रदेशसभा सदस्यहरू पठानसिंह बोहरा, लीलाधर भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीले स्पष्टीकरण बुझाएका छन् । चित्त बुझ्दो जवाफ प्राप्त नभएमा कारबाही गर्ने चेतावनी संसदीय दलको छ ।