सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र संसदीय दलका सचेतकलाई पार्टीबाट निष्कासन गर्न एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । ३ मन्त्री,३ राज्य मन्त्री र र सचेतक दुर्गा कामीले स्पष्टीकरणको जवाफ नबुझाएपछि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रलाई सिफारिस गरिएको एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले बताए ।
‘हामीले स्पष्टीकरण सोधेका थियौ,२४ घण्टा भित्र कुनै जवाफ नआएपछि हामीले कारबाहीको लागी सिफारिस गरेका छौँ,प्रदेश अध्यक्ष थापाले भने,‘अव बस्ने स्थायी समितिको बैठकबाट उनीहरूमाथि कारबाही हुन्छ।’
कारबाहीका लागि सिफारिस हुनेमा शुक्रवार भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त दीर्घ बहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामी रहेका छन् ।
एमाले प्रदेश कमिटीले यसअघि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई साधारण सदस्यबाट निष्कासित गर्न केन्द्रलाई सिफारिस गरिसकेको छ ।