दार्चुला – माओवादी सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका देवसिंह धामी २२ वर्षपछि घर फर्किएका छन् । शैल्यशिखर नगरपालिका–१, बारिल निवासी धामी २०५९ सालमा माओवादी लडाकुहरूले कुटपिट गरेपछि भारत पलायन भएका थिए ।
गम्भीर रूपमा घाइते भएका उनलाई माओवादीले मृत घोषणा गरेर छोडेका थिए । चौलानी नदी पार गर्दै बैतडी हुँदै भारत पुगेका उनले विभिन्न ठाउँमा मजदुरी गर्दै गुजारा चलाए । सिमलाका दुर्गम गाउँमा लुकेर बसेका धामीले द्वन्द्वको त्रासकै कारण नेपाल फर्कने आँट गरेका थिएनन् ।
सिमलामै विवाह गरेका देव पाँच वर्षीय छोराको जन्मदर्ता गराउन नेपाल आएका हुन् । सिमलामा मजदुरी गर्दै आएका उनले अब भारत जानेभन्दा पनि सबैले सहयोग गरे गाउँमै बस्ने मन भएको बताए । २२ वर्षपछि पहिलो पटक गाउँ फर्किएका देवलाई गाउँमा जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका छन् ।