बैतडी– बैतडीमा महाशिवरात्रिको अवसर पारेर कृषि प्रर्दशनी मेला लाग्ने भएको छ । जिल्लाका डिलासैनी गाउँपालिकाको हरिनगरमा र पाटन नगरपालिका– ६ स्वर्गिनी पीपलधाममा कृषि प्रर्दशनी मेला लाग्ने भएको हो ।
डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने जनाईएको छ । मेलामा गाउँपालिकाभित्रका किसानद्वारा उत्पादित कृषि उपज ल्याएर बिक्री गर्न सकिने बताईएको छ । किसानले ल्याउने उपजलाई बजारीकरणका लागि स्टल निःशुल्क रहेको र राम्रो कृषि उपज उत्पादन गरेका किसानलाई पुरस्कारको व्यवस्था गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।
मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ । मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली, लहरे बाली, च्याउलगायत कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा सहभागी कृषिजन्य वस्तुहरुको प्रत्येक बाली समूहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
यता पाटन नगरपालिका–६, स्वर्गिनी पीपलधाममा भने सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।