अत्तरिया – नेपाल मानवतावादी पार्टी जिल्ला समिति कैलालीले कञ्चनपुरको सीमा समस्या समाधानका लागि कडा कदम चाल्न आग्रह गरेको छ । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै उक्त पार्टीले राष्ट्र र राष्ट्रियताको मामिलामा कुनै प्रकारको ढिलाइ नगरी कडा कदम चाल्नका लागि आग्रह गरेको हो । ज्ञापन पत्रमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ८ र शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रमा भारतद्वारा भएको सीमा अतिक्रमणको घटनाले हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकता माथि गम्भीर आघात पुगेको उल्लेख छ ।
‘यो प्रकरणले हाम्रो देशको सिमानामा भएको अतिक्रमणलाई चिन्ता र असुरक्षा बढाएको छ । भारतको उक्त कदमले नेपालको भूमि र सीमा नाका अधिकारको गम्भीर उल्लङ्घन गरेको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘नेपाल र भारतको द्विपक्षीय सम्बन्धमा तनाव उत्पन्न भएको छ र, यसले सम्पूर्ण जनताको सुरक्षा र शान्तिमा प्रतिकूल असर पार्ने खतरा उत्पन्न भएकाले त्यसका लागि तत्काल कानुनी र कूटनीतिक कदम चाल्नु अत्यन्त आवश्यक देखिन्छ ।’ नेपाल मानवतावादी पार्टीका जिल्ला अध्यक्ष अङ्गत विकद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन कुनै पनि प्रकारको सम्झौतामा नजान आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा नेपालको सीमा र भौगोलिक अखण्डता सुरक्षित राख्नका लागि अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल गर्न सुझाइएको छ । ज्ञापन पत्रमा संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय फोरममा नेपालको सिमाना र सार्वभौमिकता रक्षा गर्नका लागि मुद्दा उठाउन र नेपाल सरकार सीमा सुरक्षा सम्बन्धी प्रभावकारी उपायहरू अविलम्ब लागू गर्न माग गरिएको छ ।