डोटी । डोटीको के.आई.सिंह गाउँपालिका–३, झिगाबस्तीका नाउटे भुलको घरमा गएको आइतबार बिहान भीषण आगलागी हुँदा घरमा रहेको सम्पूर्ण धनमाल, अन्न, कपडा र गरगहना जलेर नष्ट भएको छ। आगलागीबाट ठूलो क्षति भएपछि नेकपा (एमाले) डोटी जिल्ला कमिटीले मंगलबार पीडित परिवारलाई राहत प्रदान गरेको छ।
जिल्ला कमिटी सचिव पदमराज भट्टका अनुसार पीडित परिवारलाई नगद रु ३० हजारभन्दा बढीका साथै खाद्यान्न (चामल, गहुँ, दाल, नुन, तेल, तरकारी) तथा ओढ्ने–ओछ्याउने लुगा, कपडा लगायतका सामग्री सहयोग गरिएको छ।
मंगलबार नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष मञ्जु मलासी, उपाध्यक्ष खगेन्द्र बडैला, सचिव पदमराज भट्ट, अनेरास्ववियु जिल्ला इन्चार्ज वीरबहादुर विष्ट, युवा संघ प्रदेश कमिटी सदस्य वीरबहादुर बिष्ट , जिल्ला अध्यक्ष महेन्द्र कुँवर लगायत पार्टीका जिल्ला पदाधिकारी, स्थानीय नेता, कार्यकर्ताहरू राहत वितरण कार्यक्रममा सहभागी भएका थिए।
उक्त टोलीले राहत हस्तान्तरण गर्दै आगलागीबाट विस्थापित परिवारको भौतिक पुनर्निर्माणका लागि सम्बन्धित स्थानीय सरकार तथा विभिन्न संघ–संस्थासँग माग गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेकपा (एमाले) डोटी जिल्ला कमिटीले विपद्को घडीमा पीडितलाई सहयोग पुर्याउन सबैलाई आह्वान गर्दै पार्टी सधैं गरिब, पीडित र अन्यायमा परेका व्यक्तिहरूको पक्षमा रहने बताएको छ