काठमाडौं – हमासले बन्धक बनाएर राखेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपालले पछिल्लो समय गरेको प्रयासले अझै सार्थकता पाउन सकेको छैन।
इजरायल र हमासबीच युद्धविराम भएपछि बन्दी रिहाइ गर्ने क्रम चले पनि नेपाली विद्यार्थी जोशी भने अझै रिहाइ हुन सकेका छैनन् । जोशीको अवस्था अझै अज्ञात रहेको कारण इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले त्यहाँका राष्ट्रपति आइज्याक हर्जोगसँग टेलिफोन संवाद गर्नुभएको छ।
्उहाँले बुधबार दिउँसो राष्ट्रपति हर्जोगसँग टेलिफोन सम्पर्क गरेर जोशीको रिहाइका लागि पहलकदमी लिइदिनका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन संवादका क्रममा राजदूत पण्डितले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।
कुराकानीका क्रममा इजरायलका राष्ट्रपति हर्जोगले हमासको आक्रमणका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनसहित सबै बन्धकहरूको सुरक्षित रिहाइ तथा स्वदेश फिर्ती सुनिश्चित गर्न इजरायलले हरेक प्रयास गरिरहेको जानकारी राजदूत पण्डितलाई गराउनुभएको थियो।
यता, परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायलका राष्ट्रपति हर्जोगले जोशीको रिहाइका लागि गरेको पहलका लागि धन्यवाद दिनुभएको थियो । जोशीसहित सबै बन्धकहरूको सुरक्षित रिहाइ तथा स्वदेश फिर्ती सुनिश्चित गर्न इजरायलले गरेको पहल र रिहाइ हुने कुरामा आश्वस्त गराएको भन्दै परराष्ट्रमन्त्री देउवाले राष्ट्रपति हर्जोगलाई धन्यवाद दिनुभएको थियो।
‘जोशीको रिहाइ तथा स्वदेश फिर्ती नेपालको परराष्ट्र मन्त्रालयका लागि उच्च प्राथमिकताको विषय हो। यस लक्ष्य प्राप्त गर्न हामी प्रवासस्थित कूटनीतिक मिसन तथा अन्तर्राष्ट्रिय नेताहरूसँग निरन्तर समन्वयमा छौं’, परराष्ट्रमन्त्री देउवाले भन्नुभएको छ।
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट अपहरण गरेर लगेर बन्धक बनाएको थियो। त्यसयता उहाँको अवस्था अज्ञात रहेको छ ।
गाजापट्टीसँग जोडिएको इजरायलको दक्षिणी भेगमा गत वर्षको अक्टोबर ७ मा आक्रमण गरेर हमासले जोशीसहित विभिन्न मुलुकका करिब २५० जनालाई बन्धक बनाएर लगेको थियो । आक्रमणमा जोशीसँगै अलुमिम किबुजमा लुकेर बसेका अन्य १० नेपाली विद्यार्थी भने मारिएका थिए ।
हमासको आक्रमणमा परेर कैलालीका नारायणप्रसाद न्यौपाने र आशिष चौधरी, सल्यानका प्रवेश भण्डारी, बझाङका गणेशकुमार नेपाली, सुनसरीका राजेश स्वर्णकार, डोटीका पदम थापा र राजन फुलारा, दार्चुलाका लोकेन्द्र धामी र दीपेशराज विष्ट तथा धनुषाका आनन्द साहको निधन भएको थियो ।
हमासले गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा १ हजार २ सय इजरायलसहित विभिन्न देशका नागरिक मारिएका थिए भने इजरायलले प्यालेस्टाइनमा आक्रमण गर्दा ४७ हजार नागरिकको मृत्यु भएको छ ।