धनगढी – मानव सेवा आश्रमले आफ्नै भवन निर्माण गर्ने लक्ष्यसहित धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु गरेको छ । बुधबारदेखि सुरू भएको यो महायज्ञ माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।
धनगढी उपमहानगरपालिका–१, पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजित महायज्ञको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरे । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार भवन निर्माणका लागि अनुमानित १५ करोड रुपैयाँ आवश्यक पर्नेछ भने महायज्ञमार्फत ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञमा धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधिहरू आयोजना गरिनेछ । आश्रमले समाजका असहाय तथा बेसहारा व्यक्तिहरूका लागि आवासीय सुविधा निर्माण गर्न यो महायज्ञ आयोजना गरेको हो ।