धनगढी – नेपाल पत्रकार महासङ्घका तीन जना संस्थापकलाई प्रेस चौतारी नेपाल कैलालीले विशेष सम्मान प्रदान गरेको छ। सम्मानित व्यक्तिहरूमा तत्कालीन नेपाल पत्रकार सङ्घ कैलालीका संस्थापक सचिव हरिलाल गिरी, संस्थापक सहसचिव लोकराज भट्ट, र संस्थापक सदस्य धर्मराज पाठक रहेका छन्।
२७औँ स्थापना दिवसको अवसरमा आयोजित प्रेस चौतारी र पार्टीको अन्तरसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको हो। सम्मान पत्र एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदान गरे।
प्रेस चौतारीले २०५० को दशकताका मिसन पत्रकारितामार्फत पत्रकारिताको विकास र सङ्गठन निर्माणका लागि खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको जनाएको छ। सम्मानित तीनै जना पत्रकार हाल नेकपा एमालेमा सक्रिय छन्।
प्रेस चौतारी कैलालीका जिल्ला अध्यक्ष जनक सिंह विष्टका अनुसार पत्रकारिताको विकास, पत्रकार महासङ्घको गठन, र प्रेस चौतारी सङ्गठन निर्माणमा उनीहरूले खेलेको भूमिकाका लागि सम्मान गरिएको हो। उनले मिसन पत्रकारितामार्फत समाजलाई सूचित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे तापनि सङ्गठनभित्र उनीहरूलाई समेट्न ढिलाइ भएको बताए। यही कारण, प्रेस चौतारी नेपालले उनीहरूको योगदानको उच्च सम्मान गर्दै विशेष सम्मान कार्यक्रम आयोजना गरेको विष्टले जानकारी दिए।