धनगढी, माघ २७ – नोभा अस्पताल प्रा.लि धनगढीको आयोजनामा कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धनाथ माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा १०० भन्दा बढी बिरामीहरूले सर्जरीसम्बन्धी सेवा पाएका छन्।
शिविरमा जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. दिप पोख्रेल (MBBS, MS) सहितको चिकित्सक टोलीले हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, पित्तथैलीको पत्थरी लगायतका समस्या निःशुल्क परीक्षण गरे। आवश्यक परामर्श र सर्जरीसम्बन्धी सुविधा पनि उपलब्ध गराइएको थियो।
यो शिविरले दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यलाई सार्थक बनाएको छ। बिरामीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको अस्पतालले जनाएको छ।
नोभा अस्पतालले शिविर सफल बनाउन सहयोग गर्ने स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति, र सबै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद व्यक्त गरेको छ। अस्पतालले भविष्यमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
धनगढीमा आधारित नोभा अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य सुधार गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटकको शिविरले अस्पतालको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।