बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरिकलाई सम्मान गर्दै सामग्री वितरण गरिरहेको छ । आइतबार नगरपालिकाको ५ नम्बर वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम सुरु भएको र प्रत्येक वडामा पुगेर कार्यक्रम सञ्चालन भइरहेको शाखा प्रमुख लिला कुँवरले बताइन् । ८५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक र थर्मस दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्ने गरिएको कुँवरले बताइन् ।
वडाको जनसंख्या हेरर सानो वडामा ९ जना र ठुलो वडामा ११ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । ८५ वर्षमाथिका जेष्ठ नागरिक नभएका वडामा त्यो भन्दा कम उमेरका जेष्ठ नागरिकहरुलाई सम्मानका साथै सामग्री वितरण गरिने कुँवरले बताइन् ।
नगर सरकारका तर्फबाट जेष्ठ नागरिकलाई सम्मान गर्न यो कार्यक्रम सञ्चालन गरेको बताउँदै नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आगामी दिनमा जेष्ठ नागरिकहरुका लागि थप कार्यक्रम सञ्चालन गर्ने बताइन् ।