कञ्चनपुर( कञ्चनपुरको एक जङ्गलमा युवक मृत फेला परेका छन् । बेलौरी नगरपालिका(६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी गएराति बेलौरी ५ मैनाहामा दसैँको नाच हेरी घर फर्कने क्रममा सोही वडाको बन्तरियास्थित जङ्गलमा अचानक हात्तीको आवाज सुनी आफूले चलाएको से४प ८६१८ नम्बरको मोटरसाइकल छोडेर भागेका थिए । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी सम्पर्कमा आएपछि उमेश हराएको भनी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले खोजी गर्दा मंगलबार बिहान बेलौरी ५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा उमेशलाई मृत अवस्थामा फेला पारेको जनाएको छ । उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।
मृतकको शव परीक्षण हुन भने बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।