धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ।
आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो। ६ वटा बसबाट नगर बस सेवा सुरू गरिएको छ। उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ।
नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन्। धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ।धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए। उनले करिब ७ किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर् बसमा यात्रा गर्न पाइने बताए। २०८१ असोज १ गतेदेखि सुरू हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ। नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ।