डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै राहत तथा आर्थिक सहयोगमा एकद्वार प्रणालीमार्फत वितरण गर्न आग्रह गरेको छ।
पछिल्लो समयमा जिल्लामा राहत कोषका नाममा पनि आर्थिक संकलन गर्ने काम भइरहेकाले सो कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै एकद्वार प्रणालीबाट जान प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आग्रह गरेका छन्।
कोरोनाका नाममा विभिन्न बाहानमा आर्थिक सहयोग संकलन नगर्न पनि प्रशासनले आग्रह गरेका छ। पछिल्लो समयमा अक्सिजन दिनुका साथै अन्य विभिन्न बाहानमा आर्थिक सहयोग संकलन हुन थालेपछि प्रशासनले सो आग्रह गरेको हो।
जिल्लामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रहेको बारे जानकारी गराउँदै जुनसुकै काम गर्दा पनि केन्द्रमार्फत नै काम गर्नसमेत आग्रह गरिएको छ।
साथै निर्माण गरिएको आइसोलेसन पनि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको समन्वय र सहजीकरणमा स्वास्थ्यका मापदण्डको पालना गरेर मात्रै संचालन गर्न आग्रह गरिएको छ। अन्यथा कानुनअनुसार कारबाही हुने समेत चेतावनी दिइएको छ।