धनगढी-कैलालीको लम्कीचुहा नगरपालिकाले वैशाख १९ गतेबाट मात्रै नगरक्षेत्र भित्र कोरोना व्यवस्थापनको तयारी थाल्यो । त्यसयता हाल सम्म ६ सय १६ जनाको पिसीआर परीक्षण गरीएकोमा २ सय ३८ जनामा सङ्क्रमण देखियो।सङ्क्रमितहरूका लागी नगरपालिकाले राधा स्वामी सत्संघको भवनमा आइसोलेसनवेडको व्यवस्था गरेको छ।साताको बुधवार हामीले पिसीआर परीक्षणका लागी स्वाब सङ्कलन गछौँ,नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले भनिन्,‘स्वाब सङ्कलन गर्दा भिडभाड व्यवस्थापन गर्न नै समस्या हुन्छ,स्वास्थ्यकर्मीहरूमा पनि सङ्क्रमण देखिन थालेपछि हामीले सातामा एकचोटीमात्रै स्वाब सङ्कलन गर्न सकिरहेका छौँ।’
सत्संघ भवनमा १ सय बेड राखिएका पनि सञ्चालनमा १५ वटा मात्रै छन् । अहिले त्यहाँ १८ जना बिरामी मात्रै उपचाररत छन्,अधिकांश सङ्क्रमित होम आइसोलेसनमै छन्।स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार वैशाख १९ यता विभिन्न ठाउँमा १२ सङ्क्रमितले ज्यान गुमाएका छन् । नगरपालीकाद्धारा सञ्चालित कोभिड आइसोलेसन भवनमामात्रै ४ जनाले ज्यान गुमाएका छन्। उपकरण अभावमा उपचार हुन नसकेपछि उनीहरूको ज्यान गएको हो।
‘एन्टीजेन परीक्षणको प्रतिव्यक्ति ८ सय’
नगरपालिकाले पिसीआर परीक्षणका लागी मात्रै निःशुल्क रूपमा स्वाब सङ्कलन गरिरहेको छ त्यो पनि हप्ताको एक दिन बुधवार मात्रै।‘हामीले स्वाब सङ्कलन गरेर परीक्षणका लागी धनगढी पठाउँछौँ,स्वास्थ्य शाखा प्रमुख बिसीले भनिन्,‘एन्टीजेन परीक्षणका लागी हामी सँग किट छैन,नगरपालिका अन्तरगत रहेको लम्कीचुहा अस्पतालबाट भने परीक्षण भइरहेको।’
नगरपालिका अन्तरगतको लम्कीचुहा सामुदायिक अस्पतालबाट २४सै घण्टा एन्टीजेन परीक्षण भइरहेको छ। तर त्यहाँ परीक्षण गरेबापत नागरिकहरूले प्रतिव्यक्ति ८ सयका दरले शुल्क तिर्नुपर्छ।
‘हामीले एन्टीजेन परीक्षणका लागी किट आफैँ किनेका हौँ,अस्पतालका सदस्य सचिव तथा कार्यालय प्रमुख गङ्गाराम उपाध्यायले भने,‘दैनिकरुपमा २०÷२५ जना एन्टीजेन परीक्षणका लागी पुग्छन्,यहाँ परीक्षण गर्नेहरू मध्ये ५० प्रतिशतमा कोरोना पोजेटिभ देखाइरहेको छ।’
लम्कीचुहा अस्पताल नगरपालिका मातहत सञ्चालनमा रहेको अस्पताल हो। बर्सेनि नगरपालिकाले कर्मचारीको तलब र व्यवस्थापनका लागी बजेटको विनियोजन गर्ने गरेको छ।
चालु आर्थिक बर्षमा पनि नगरपालिकाले डेढ करोड बजेट अस्पतालमा लागी छुट्टाएको छ। अस्पतालमा १५ शय्याको हो। तर यहाँ एउटा पनि कोरोनाका बिरामी छैनन्। एन्टीेजेन परीक्षणका नाममा भने अस्पतालले सेवाग्राहीबाट शुल्क असुली रहेको छ।
‘हामीले ५ हजार किट खरिद गरेका थियौँ,अस्पताल प्रमुख उपाध्यायले भने,‘विभिन्न सङ्घ संस्था तथा अस्पतालहरूले पनि हामीबाट किट खरिद गरेर लगे अव एक हजारको हाराहारीमा मात्रै किट उपलब्ध छन्।’
उपकरणको चरम अभाव,फितलो व्यवस्थापन
लाम्कीमा पनि अधिंकास सङ्क्रमित घरमा छन्। आइसोलेसन भवनमा १८ जना मात्रै उपचाररत छन्। त्यहाँ उनीहरूलाई खाना र अक्सिजन र सामान्य औषधी सँगै चिकित्सकीय परामर्शको व्यवस्था छ। तर अन्य त्यो बाहेक अन्य कुनै उपकरण छैनन् । कोरोना परीक्षणका लागी पनि नगरपालिकामा भिटिएम अभाव हुने अवस्थामा छ । ‘हाल हामी सँग १४ वटा अक्सिजन सिलिन्डर छ,स्वास्थ्य शाखा प्रमुख बिसीले भनिन्,‘त्यसमा पनि ४ सानो र १० वटा ठुलो सिलिन्डर छन्,५ सयको हाराहारीमा मात्रै भिटीएम छन्।’
साताको एक दिन मात्रै स्वाब सङ्कलन भइरहेको छ । प्रत्येक बुधवार २÷३ सयको हाराहारीमा नागरिक स्वाब दिन आइरहेका छन्। उपलब्ध भिटिएम अबको दुई साता मात्रै पुग्ने गरी छ। त्यसपछि लाम्कीमा समस्या झन् विकराल हुने देखिएको छ ।
‘हामीले एन्टीजेन किट किन्दैनौँ,एक हजारको हाराहारीमा भिटिएम खरिद गर्ने गरी छलफलमा छौँ,स्वास्थ्य शाखा प्रमुख बिसीले भनिन्,‘कोरोना व्यवस्थापनको सक्दो प्रयास गरिरहेका छौँ,कामकै सिलसिलामा ६÷७ जना स्वास्थ्यकर्मीहरूमा पनि सङ्क्रमण देखियो,अहिले व्यवस्थापनमा निकै समस्या भइरहेको छ।’
कोरोना व्यवस्थापनका लागी आवश्यक उपकरण र स्वास्थ्य सामाग्री किन्ने तयारी भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले बताए ।
‘हामीले आवश्यक उपकरणहरूको खरिदका लागी प्रक्रिया थालेका छौँ,उनले भने,‘जतिसक्दो चाडौ हामी खरिद गरेर सेवासुरु गछौँ।’
मिनी अक्सिजन प्लान्टका लागी पहल तर पुग्ने कहिले ?
सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट निर्माण तयारी थालेको छ । ‘यसका लागी १५ लाख बजेट स्वीकृत भइसकेको छ,निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने,‘यसका लागी विज्ञहरूको टोलीले सर्वे गरिरहेको छ,।सर्वे टोलीको निष्कर्ष पछि मात्रै काम सुरु हुन्छ।’
नगरपालिकाले अक्सिजन प्लान्ट जडानका लागि ५० लाख रकम आवश्यक पर्ने भन्दै पत्राचार गरे पनि अहिले १५ लाख मात्रै स्वीकृत भएको छ । नगरपालिका सम्पूर्ण खर्च मन्त्रालयलेनै बेहोरोस् भन्ने चाहन्छ । ५० लाखको हाराहारीमा लगानी लाग्छ, निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने,‘हामीले बजेट व्यवस्थापन गर्न सक्ने अवस्था छैन, मन्त्रालयले बाँकी बजेट स्वीकृत गरेपछि कामले तीव्रता पाउँछ।’
लम्कीमा मिनी अक्सिजन प्लान्ट निर्माण हुने चर्चा चले पनि बजेट,उपकरण र आवश्यक जनशक्ति अभावका कारण तत्काल प्लान्ट जडान गर्न भने समस्या नै देखिएको छ।