बैतडी- अछाममा गत असार ३ गते राति एक किशोरीमाथि करणी भयो। महिनावारी भएकी १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको हो। छाउगोठमा बस्दै आएकी किशोरीमाथि राति करणी भएको थियो।
मामा घरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा असार ४ गते मङ्गलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।किशोरी करणीको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ पनि गर्यो। अहिले पीडकलाई अदालतबाट फइसल्ला गरि डोटीको सुधारगृहमा राखिएको छ। पीडित किशोरीलाई परिवारको जिम्मा लगाइएको छ। उनको उपचारपछि परिवारको जिम्मा लगाएको अछाम प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक जय पार्कीले भने, ‘बालिका करणीको आरोपमा स्थानीय १७ वर्षीय बालक पक्राउ परेका हुन्। उनको थुनछेक बहसपछि अदालतले फइसल्ला गरेर डोटीको सुधार गृहमा राखिएको छ। पीडित बालिकालाई उपचारपछि आफन्तको जिम्मा लगाइएको छ। बालिकाको स्वास्थ्य अवस्था ठिक छ।’
सुदूरपश्चिममा बालिका असुरक्षित
यो त एक उदाहरण मात्रै हो। सुदूरपश्चिममा छाउपडीका कारण महिला, किशोरी, युवती तथा बालिकाहरू असुरक्षित बनिरहेका छन्। गलत चलन, अन्धविश्वास, रूढिवादी परम्परा तथा पितृसत्तात्मक सोचका कारण महिला तथा बालिका असुरक्षित बन्दै गइरहेका हुन्।
महिनावारी हुँदा घरभन्दा अलिक टाढा रहेको छाउगोठमा बस्नु पर्ने बाध्यताका कारण महिलाहरू असुरक्षित बनिरहेका छन। महिनावारी महिलालाई जङ्गली जनावर बाघ, जङ्गली बँदेल, भालु तथा सर्प लगायत विभिन्न विषालु जीवबाट असुरक्षा बढेको छ भने आफन्त, परिवार तथा समाजबाट पनि उनीहरू सुरक्षित छैनन्। सामाजिक कुप्रथाको दलदलमा अछामसहित सुदूरपश्चिमका महिलाहरू छन्।
छाउ नबारे परिवार, आफन्तको डर, बारे जङ्गली जनावर तथा विषालुको जीवको डरै डरमा बाँचिरहेको आभास उनीहरूमा छन्। यति मात्रै होइन आफन्तबाटै बलात्कारको शिकार समेत बनिरहेका घटनाहरू सुदूरपश्चिममा सार्वजनिक हुने गरेका छन्।
छाउपडीकै कारण महिलाहरूले घरेलु हिसा समेत खेप्नुपरिरहेको छ। छाउपडी कुप्रथा न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन्। तर, सुदूर समाजको चेत खुलेको छैन। महिनावारीको समयमा महिला असुरक्षित हुनुको मुख्य कारण रूढिवादी परम्परा, धार्मिक, आर्थिक समस्या रहेको अधिकारर्मी बताउँछन्। ‘महिलाहरूसँग आफ्नो आर्थिक स्रोत केही पनि हुँदैन्। अर्काको भरमा जीवन बिताइरहनुपर्ने बाध्यता हुन्छ। घर परिवार, समाज जसले जे भन्यो त्यही मान्नुपर्ने, प्रतिकार गर्न नसक्ने हुनाले पनि यस्ता प्रथा जरो गाडेर बसेका छन र यसले गर्दा पनि महिलाहरू असुरक्षित बनेका छन्,’ महिला अधिकारकर्मी सरस्वती नेपालीले भनिन्।
उनले भनिन्, ‘मान्छे जति शिक्षित भएपनि उनीहरूको मानसिकमा अझै लागेको छैन। महिनावारी भने प्राकृतिक कुरा हो। आफूले पढेको भएपनि हामी धर्ममा विश्वास गर्ने भएर गलत चलनलाई हटाउन सकिरहेका छैनौँ।’ धर्मको नाममा महिलाहरूलाई महिनावारी हुँदा पापको रूपमा हेर्ने चलन बसेको उनले बताइन। छाउपडी कुप्रथा काम गर्न स्थानीय तहबाटै जनचेतनाका कार्यक्रम लागु गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।
छाउगोठमा ७ जनाको मृत्यु
अछाम र बाजुरामा मात्र ७ जनाको छाउगोठमा मृत्यु भएको छ। प्रहरीको तथ्याकँ अनुसार २०७४ देखि आमा–छोरासहित ७ जनाले छाउगोठमा अकालमै ज्यान गएको हो। अछाम र बाजुराका ७ जनाले छाउगोठमा ज्यान गुमाएका हुन्।
अछामको सांफेबगर नगरपालिका– ३ कि २२ वर्षीय पार्वती बुढाको छाउगोठमा सर्पले टोकेर मृत्यु भएको थियो। यस्तै अछामकै तिमिल्सैन कि ४५ वर्षीय डम्मरा उपाध्याय, तुर्माखाद गाउँपालिका– ३ कि २१ वर्षीय गौरी वयक बुढा, गाजरी गाउँपालिका– ६ कि १५ वर्षीय रोशनी तिवारीको निस्सासिएर छाउगोठमा मृत्यु भएको थियो।
यस्तै बाजुराको बुढीगगां नगरपालिका– ९ कि ३५ वर्षीय अम्बा बोहरा उनका १२ वार्षीय छोरा शुरेस बोहरा र ९ वर्षीय छोरा रमित बोहराको आगलागीबाट छाउगोठमा मृत्यु भएको थियो।
छाउगोठमा महिलाहरू असुरक्षित हुन थालेको भन्दै छाउगोठ भत्काउने अभियान पनि सञ्चालन गरियो। तर, फेरी भत्काइएका छाउगोठको पुनःमर्मत गरि छाउगोठमै बस्ने गरिएको छ। पुनः मर्मत गरेका छाउगोठ पनि भत्काउँदा अधिकांश महिलाहरू घर नजिकका ओडार, डोको मुनि बसिरहेका घटना पनि बाहिरिए। अहिले पनि सामूहिक रूपमा छाउगोठ बनाएर बस्ने गरेको सुनिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले बताए। उनले भने, ‘भयाबहरुपमा घटना बाहिर आउनथाले पछि विभिन्न जनचेतना मूलक सन्देश सँगै छाउगोठ भत्काउने काम पनि गर्यौँ। तर, पनि स्थानीयले फेरि भत्काएका गोठलाई पुनः मर्मत गरेर बस्न थाले। फेरि भत्काउँदा पनि सामूहिक रूपमा छाउगोठ बनाएर बस्ने गरिएको सुनिएको छ।’
अछाममा मात्रै ६ हजार बढी छाउगोठ भत्काइएका छन्। धर्मका नाममा महिनावारी महिलालाई पापको रूपमा हेर्ने गरिएको छ। मानसिक रूपमै महिनावारी हुनु प्राकृतिक हो भन्ने चेत अथवा धर्मको नाममा रूढिवादीप्रतिको विसस नहटाउँदासम्म छाउपडीको जरो कायमै रहने सरोकारवाला बताउछन्।