पोखराको लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार काठमाडौंबाट पोखरा उडेको उडान नम्बर ६५५ कल साइन ९ एन एएमडीमा प्राविधिक समस्या देखिएपछि फर्किएको हो ।
काठमाडौंमा विमान सुरक्षित अवतरण भएको छ । उक्त जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्काउने निर्णय लिइएको हो ।